काठमाडौँ – इसराइलले गजामा एकैदिन ४०० जनाको ज्यान जाने गरी भीषण आक्रमण गरेको छ। मंगलबारको यो हमला माघ ५ गते युद्धविराम सुरू भएयताकै सबैभन्दा ठूलो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेपछि आक्रमण गर्न निर्देशन दिएको बताए। उनले गजाका नागरिकलाई सुरक्षित स्थानमा जान चेतावनी दिएका छन्।
“अब शान्ति वार्ता आक्रमणकै बीच हुनेछ”
नेतन्याहूले इसराइली सैनिक आधार शिविर ‘किर्य’ बाट सम्बोधन गर्दै भने, “इसराइलले हमासविरुद्ध अझै सशक्त रूपमा आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन, आक्रमणकै बीच हुनेछ।”
उनले हमासले इसराइली आक्रमणको असर महसुस गरिसकेको दाबी गरे। “यो त केबल सुरूवात मात्रै हो,” उनले थपे।
गजाका शिविरहरूमा आक्रमण
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इसराइली सेनाले गजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू, अस्थायी शिविरहरू र अन्य संरचनाहरूलाई निशाना बनाएको थियो।
प्रत्यक्षदर्शीहरूले मंगलबार राति इसराइली लडाकु विमानले गजा सहरमा मिसाइल प्रहार गरेको बताएका छन्।
६५ वर्षीया रबिहा जमालले रोयटर्ससँग भनेकी छन्, “त्यो नर्कको रात थियो। युद्धको पहिलो दिन जस्तै महसुस भयो।”
युद्धविरामको भंगपछि ठूलो आक्रमण
माघ ५ गते तीन चरणमा लागू हुनेगरी इसराइल-हमासबीच युद्धविराम भएको थियो। ४२ दिनपछि दोस्रो चरणको युद्धविरामका लागि सहमति जुट्न नसक्दा अमेरिकी मध्यस्थतामा पहिलो चरणकै युद्धविराम अवधि थप गरिएको थियो।
तर हमासले दोस्रो चरणको युद्धविराम हुनुपर्ने अडान राख्दै इसराइलको प्रस्ताव अस्वीकार गर्यो। त्यसपछि इसराइलले गजामा साना आक्रमणहरू गर्दै आएको थियो।
मंगलबारको हमलापछि इसराइलले गजामा पुनः ठूला आक्रमण सुरू गरेको संकेत देखिएको छ। यसले हमासद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारमा थप त्रास बढाएको छ।
रोयटर्सका अनुसार हमासले २०२३ को अक्टोबरमा अपहरण गरी गजा पुर्याएका २४९ जनामध्ये अझै ५९ जना हमासकै कब्जामा छन्।