दार्चुला – भारतको राजस्थान, जयपुरमा मोटरसाइकल दुर्घटनामा परि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको निधन भएको छ।
सोमबार राति जयपुरमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा ज्यान गएको उनका आफन्त कृष्ण जोशीले जानकारी दिएका छन्। जोशी पाँच महिना अघि मात्रै रोजगारीको सिलसिलामा भारत गएका थिए। उनको असामयिक निधनले परिवारसहित गाउँ नै शोकमग्न बनेको छ। घरमा उनका वृद्ध आमाबुबा, श्रीमती र तीन छोरी रहेका छन्।
जोशीको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया सम्बन्धमा थप जानकारी आउन बाँकी छ।