सामुदायिक वन संरक्षणका लागि बैजनाथ वन उपभोक्ता समूहद्वारा विशेष कार्यक्रम

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वन विकास जनभावना कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी शनिबार अर्थात ९ गते बिहान १०:०० बजे श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको कार्यालय, कञ्चनपुरमा सञ्चालन गरिनेछ।

वन ऐन २०७६ अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन विकासका विषयमा छलफल गर्न जनभावना कार्यक्रम सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यस कार्यक्रमको उद्देश्य वन संरक्षण, व्यवस्थापन तथा विकाससँग सम्बन्धित विषयहरूमा सरोकारवालाहरूको राय संकलन गर्नु हो। कार्यक्रममार्फत वन निगरानी प्रणालीलाई प्रभावकारी बनाउने, वृक्षारोपण तथा वन विनाश नियन्त्रणका उपायहरू अपनाउने, वन क्षेत्रमा हुने आगलागी रोकथाम तथा नियन्त्रणका उपायहरू लागू गर्ने, स्थानीय समुदायको सहभागिता बढाउने तथा वन संरक्षणसम्बन्धी कानुनी व्यवस्थाहरूको जानकारी प्रदान गर्ने विषयमा छलफल गरिनेछ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण सदस्यहरू, स्थानीय निकायका प्रतिनिधिहरू, वन संरक्षण तथा व्यवस्थापनमा चासो राख्ने सरोकारवाला संघसंस्था, वातावरणविद्हरू तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर सिंह महरा का अनुसार यो कार्यक्रम वन संरक्षण र व्यवस्थापनमा स्थानीय जनताको भूमिकालाई अझ प्रभावकारी बनाउन तथा वनसम्बन्धी नीति निर्माणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आयोजित गरिएको हो।

सामुदायिक वनको दिगो विकासका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा स्थानीय जनताको सहकार्य आवश्यक पर्ने भएकाले यस कार्यक्रममा उपस्थित भई आफ्नो विचार तथा सुझाव राख्न सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरिएको छ। कार्यक्रमपछि छलफल भएका विषयहरूलाई आधार मानेर सामुदायिक वन संरक्षण तथा व्यवस्थापनका लागि नयाँ कार्ययोजना तयार गरिनेछ, जसले दीर्घकालीन रूपमा वन स्रोतको दिगो उपयोग र संरक्षणलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्