भक्तपुर – राजधानी काठमाडौंको दक्षिणतर्फ केही दूरीमा रहेको भक्तपुरको रानिकोट पछिल्लो समय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। यहाँ अवस्थित भिल्लेज हाइल्याण्ड रिसोर्ट प्राकृतिक सुन्दरता तथा आधुनिक सुविधाहरूको समिश्रणका कारण पर्यटकहरूको रोजाइमा पर्दै आएको छ। यो रिसोर्ट हिमालय अवलोकनको उत्कृष्ट गन्तव्य पनि हो । रिसोर्टबाट लाङटाङ, मनास्लु, गौरीशंकर लगायतका हिमश्रृंखलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी, सूर्योदयका बेला सुनौलो घामको किरणले हिमाल झलमलाउँदा अवलोकनकर्तालाई मनमोहक दृश्य प्रदान गर्छ।
रिसोर्ट नजिकै रहेको बाघ भैरव मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। नेवारी संस्कृति झल्किने यो मन्दिरको दर्शनका लागि धार्मिक पर्यटकहरूको समेत भिड लाग्ने गरेको छ।
प्राकृतिक सौन्दर्य र शान्त वातावरण
रिसोर्ट चारैतिर हरियालीले घेरिएको छ। यहाँको स्वच्छ हावा, हरियाली जंगल, र चराचुरुङ्गीको चिरबिर आवाजले पर्यटकलाई शहरी कोलाहलबाट टाढा प्राकृतिक आनन्द लिन अवसर प्रदान गर्छ। बिहानपख चराचुरुङ्गीको मीठो आवाजसँगै चिया पिउँदै हिमालय नियाल्न सकिने यहाँको मुख्य विशेषता हो।
रिसोर्टमा आरामदायी कोठा, आधुनिक बाथरूम, बाल्कनी, र वातानुकूलित सुविधा उपलब्ध छन्। स्वच्छ वातावरण र गुणस्तरीय सेवाका कारण पर्यटकहरू यहाँ बस्न रुचाउने गरेको रिसोर्टका सञ्चालक रामसुन्दर बकेले जानकारी दिए ।
रिसोर्टका सञ्चालक रामसुन्दर बकेका अनुसार, पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकहरूको आगमन बढ्दो क्रममा छ। “हाम्रो उद्देश्य प्रकृति, संस्कृति र आधुनिक सुविधाको अद्भुत संयोजनमार्फत अतिथिहरूलाई विशिष्ट अनुभव प्रदान गर्नु हो। यहाँ बस्ने जो कोहीले पनि शान्त वातावरणको आनन्द लिन सक्छन्,” संचालक बकेले भने।
उनका अनुसार, रिसोर्टले पर्यटकहरूलाई स्थानीय संस्कृतिसँग जोड्ने प्रयास गरिरहेको छ। “हामी स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम र प्राकृतिक सौन्दर्यको प्रवर्द्धनमा केन्द्रित छौं। यसले यहाँ बस्ने हरेक पाहुनालाई अविस्मरणीय अनुभव दिन मद्दत गर्छ,” उनले थपे।
भिल्लेज हाइल्याण्ड रिसोर्ट भक्तपुर क्षेत्रकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, तथा उत्कृष्ट आतिथ्य सेवाका कारण यहाँ आउने जो कोही लोभिने गर्छन्।