नयाँ दिल्लीमा नेपाल-युक्रेन उच्चस्तरीय भेटवार्ता, युद्धबन्दी नेपाली नागरिकको रिहाइबारे छलफल

नयाँ दिल्ली – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी रहँदा उनीहरूबीच आज विशेष भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध, आपसी हितका मुद्दा तथा द्विपक्षीय सहकार्यबारे गहन छलफल भएको थियो। यस अवसरमा मन्त्री डा. राणाले युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि युक्रेन सरकारसँग पहल गर्न आग्रह गर्नुभयो।

नेपाल सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना हुन अनुमति नदिएको स्पष्ट गर्दै उहाँले मानव तस्करमार्फत नेपालीहरू रुसी सेनामा पुगेको जानकारी दिनुभयो। ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको नियन्त्रणमा रहेको भन्दै उहाँले शीघ्र रिहाइको माग गर्नुभएको थियो।

युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरी उनीहरूको रिहाइका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटवार्ताका क्रममा नेपालले सन् २०२७-२०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै मन्त्री डा. राणाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि अनुरोध गर्नुभयो।

यस भेटलाई थप अर्थपूर्ण बनाउँदै नेपाल र युक्रेनबीच सरकारी तथा कूटनीतिक राहदानीवाहकहरूलाई निःशुल्क भिसा दिने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्