काठमाडौँ – काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उहाँले सपथ ग्रहण गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिको पद पूर्तिका लागि गठित खोज तथा सिफारिस समितिबाट सिफारिस गरिएका तीन उम्मेदवारमध्येबाट डा. वाग्लेलाई काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ अनुसार नियुक्त गर्नुभएको थियो।
सपथग्रहण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति चयन प्रक्रियामा देखिएको ढिलाइप्रति सचेत रहँदै आगामी दिनमा विश्वविद्यालयको स्वतन्त्रता, गुणस्तर वृद्धि र समावेशी स्वरूपलाई सुनिश्चित गर्ने गरी काम गर्न सुझाव दिनुभयो।
नवनियुक्त उपकुलपति वाग्ले यसअघि विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रारको भूमिकामा रहनुभएको थियो। नयाँ नेतृत्वको आगमनसँगै विश्वविद्यालयको शैक्षिक विकासमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ।