काठमाडौं – देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ। त्यसैगरी, अपराह्नतिर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। रातिको समयमा कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहने अनुमान गरिएको छ। यसैगरी, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।