काठमाडौँ – आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा दार्चुला जिल्लाका दूरगामी एवं महत्वपूर्ण परियोजनाहरू प्राथमिकताका साथ समावेश गर्ने विषयमा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीसहित आयोगका सदस्यहरूसँग छलफल गर्नुभएको छ।
उक्त छलफलमा आयोगका सदस्यहरू डा. जयबहादुर टन्डन, गंगादत्त अवस्थी, डा. आरपी बिच्छालगायतको उपस्थिति रहेको थियो। बैठकमा चालू आर्थिक वर्षका योजनाहरूको कार्यप्रगति समीक्षासँगै आगामी वर्षका लागि जिल्लामा सञ्चालन गर्नुपर्ने प्रमुख आयोजना तथा पूर्वाधार विकासका विषयमा बृहत् विचार-विमर्श गरिएको थियो।
विशेष गरी नेपाली सेनाद्वारा निर्माणाधीन तुसरपानी–कोठेधार–तिन्कर सडक खण्डको लागि छुट्टै बजेट शीर्षकसहित पर्याप्त बजेट विनियोजन गर्ने र सेनाद्वारा प्रस्तावित कार्ययोजना अनुरूप निर्माण कार्यलाई तीव्रता दिने सहमति समेत भएको छ। सांसद बडूको सचिवालयका अनुसार, आगामी वर्षका योजनाहरू प्रभावकारी कार्यान्वयन हुने गरी आवश्यक स्रोत साधन व्यवस्थापनको विषयमा समेत छलफल भएको छ।
दार्चुलाका भौतिक पूर्वाधार, सडक सञ्जाल तथा समग्र विकासका लागि भएको यो उच्चस्तरीय छलफल महत्वपूर्ण मानिएको छ।