काठमाडौं – वीर अस्पतालको नयाँ निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
न्याम्स ऐनअनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री एवं सहकुलपति प्रदीप पौडेलसमक्ष डा. दिलीप शर्मा, डा. समाज गौतम, र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए। अन्ततः मन्त्रालयले डा. शर्मालाई निर्देशकका रूपमा नियुक्त गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। उनले विगतमा प्रधानमन्त्री ओलीका क्याबिनेट चिकित्सकका रूपमा समेत भूमिका निभाइसकेका छन्।
यसअघि, वीर अस्पतालको निर्देशकको रूपमा कार्यरत डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएको थियो। त्यसपछि अस्पतालको नेतृत्व निमित्त निर्देशकका रूपमा डा. समाज गौतमले सम्हालिरहेका थिए।