काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गते झापाको कचनकवलबाट सुरू गरेको तराई-मधेस जागरण अभियान केही दिनका लागि स्थगित गरेको छ।
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै अभियानलाई अस्थायी रूपमा रोक्ने निर्णय गरिएको हो। ‘देशभरि राजनीतिक चलखेल बढेको छ, राजावादीहरू सलबलाइरहेका छन्। संसदमा प्रतिवाद आवश्यक भएकाले तत्काल अभियान स्थगित गरी काठमाडौं फर्कने निर्णय गरेका छौं,’ ती पदाधिकारीले बताए।
यसअघि अभियान बारा, पर्सा र चितवनसम्म निरन्तर अघि बढ्ने तय गरिएको थियो। अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू सहभागी थिए।
काठमाडौं फर्किएपछि भोलि नै पदाधिकारी बैठक बोलाउने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ।