मणिका धाममा आज भव्य मेला लाग्ने, सिद्धनाथको दर्शन गर्ने श्रद्धालुहरूको घुँइचो

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्।

यसैबीच, हिजो राति विशेष रात्रिकालीन पूजा एवं जात्रा सम्पन्न भयो, जसलाई स्थानीय भाषामा ‘रतेडी’ भनिन्छ। रतेडीका अवसरमा मन्दिरमा भव्य आरती, भजन-कीर्तन, दीप प्रज्वलन, तथा धार्मिक अनुष्ठान सम्पन्न भएको थियो। भक्तजनहरूले रातभर जाग्राम बसेर पूजाअर्चना गरेका थिए। मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरूले दीप प्रज्वलन गरी वैजनाथ बाबासँग भाकल गरेका थिए।

आज लाग्ने मेलाका लागि विशेष तयारी गरिएको छ। मेलामा छिमेकी जिल्ला तथा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट समेत भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। भक्तजनको सुविधाका लागि खानेपानी, बजार व्यवस्थापन, पार्किङ, र सुरक्षाको विशेष प्रबन्ध गरिएको छ।

मणिका धाम क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँ सिद्धनाथ-वैजनाथ बाबाको मन्दिर, विवाह मण्डप, धुनी घर, भजन-कीर्तन स्थल तथा साधु-सन्तहरूको कुटी रहेका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र घना सालको जंगलले घेरिएको छ, जसले भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभव प्रदान गर्छ।

मेलामा हजारौं भक्तजनको सहभागिता रहने अपेक्षा
यसवर्ष मेलामा झण्डै एक लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। भक्तजनहरूको सुविधाका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ भने मन्दिर तथा आसपासको क्षेत्र सरसफाइ गरी व्यवस्थित बनाइएको छ।

मणिका धाममा हरेक वर्ष लाग्ने यो मेला धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ। स्थानीय बासिन्दा तथा नगरपालिकाले यस क्षेत्रको प्रवर्द्धन तथा संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकतासमेत व्यक्त गरेका छन्। संघीय सरकारले यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्