सांसद बडूको पहलमा दार्चुला टिंकर सडकमा ५ करोड बजेट थप

काठमाडौँ –  महाकाली करिडोर अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसरपानी-कोठेधार-टिंकर सडकमा ५ करोड बजेट थप निकासा गरिएको छ । नेपाली सेनामार्फत थप ट्रयाक निर्माणका लागि ५ करोड बजेट रकमान्तर गरि स्वीकृत गरिएको अर्थ मन्त्रालयका अधिकृत बुद्धिप्रसाद पन्तले बताउनुभयाे। अर्थ मन्त्रालयले नेपाली सेनाद्वारा निर्माणाधीन “तुसरपानी-कोठेधार-टिंकर” सडक खण्डमा टिंकर छाङरु तर्फबाट पनि काम सुचारु गर्न हेली लिफ्ट गरि उक्त स्थानमा स्काभेटर र कम्प्रेसर मेसीन पुर्याउने उद्देशका साथ बजेट निकासा गरेको प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको सचिवालयले जनाएको छ ।

सेनामार्फत काम भइरहेको क्षेत्र (छाङरू) बाट समेत मेसिन प्रयोग गरि सडकको ट्रयाक खुलाउने विषयमा गृहकार्य भइरहेको र उपकरण ढुवानी गरि थप ट्रयाक खुलाउने उद्देश्यले अर्थ मन्त्रालयबाट ५ करोड बजेट थप गरिएको पूर्वमन्त्री बडूले बताउनुभयो । नेपाली सेना र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट अनुरोध भए अनुसार थप पाँच करोड रकम अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो । ‘यसरी उक्त सडकखण्डमा दुबै तर्फबाट निर्माण कार्य सुचारु भई छिटो भन्दा छिटो ‘ट्र्याक ओपन’ हुने र स्थानीयवासीले लामो समय देखि भोग्दै आएको आवत जावतको समस्याको स्थायी सामाधान हुने तथा सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाकाको महत्वपूर्ण र एकमात्र सडक खण्ड भएकोले दार्चुलाको पर्यटन प्रबर्द्धनका साथै त्रिदेशीय वाणिज्य ब्यापार लगायत समग्र जिल्लाको आर्थिक र भौतिक विकासमा यो प्रयास कोशेढुङ्गा साबित हुने बिश्वास गरिएको छ,’ सासंद बडूको सचिवालयले फेसबुक पेज मार्फत सार्वजनिक गरिएको पाेष्टमा भनिएको छ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गर्न सरकार संग पटकपटक अनुरोध गर्दै आईरहनुभएको छ ।

२०८१ मंसिर १२ गतेका सांसद बडुको आग्रहमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयका  मन्त्री, सचिवहरू,  प्रधानसेनापति तथा विकास निर्माण निर्देशनालयका निर्देशक समेतबाट नेपाली सेनाद्वारा निर्माणाधीन दार्चुला-तिङ्कर सडकको तुषरपानी-कोठेदार-तिङ्कर सडक खण्डको स्थलगत अवलोकन निरिक्षण तथा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा प्रभावकारी भावी कार्ययोजना तयारी सन्दर्भमा सेनाको छाङ्ग्रु र सुनसेरा बेसक्याम्पमा विस्तृत ब्रीफिङ, छलफल कार्यका साथै स्थानीय जनता र जनप्रतिनिधीहरूसँग अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा तोकिएको समय भित्रै तिव्र गतिका साथ निर्माण सम्पन्न गर्ने गरी दुई-दुईवटा स्काभेटर र कम्प्रेसर हेली लिफ्ट गरेर छाङ्गरु पुर्याउने र छाङ्गरुबाट समेत तल दुम्लिङ तर्फ पनि निर्माण शुरु गर्ने छलफल भएको सांसद बडुको सचिवालयले जनाएको छ ।

त्यस्तै छाङरुमा सेनाको क्याम्प निर्माण,स्काईभेटर मेसिन ढुवानीको लागि भारतसँग कुटनैतिक पहल गरिदिन सांसद बडूले २०८१ पौष २३ गते परराष्ट्रमन्त्री आर्जु राणालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । टिंकर सडकमा विगतदेखि बजेट थप गरि प्राथमिकताका साथ काम अघि बढाउन निरन्तर पहल, अनुरोध गरेपनि सरकारले प्रयाप्त बजेट विनियोजन गरेको छैन् । चालू आर्थिक वर्षमा ९ करोड मात्रै विनियोजन भएकोमा अर्थ मन्त्रालयले थप ५ करोड निकासा दिने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्