बझाङ — बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, र बैतडीमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। लामो खडेरीपछि पानी परेपछि स्थानीय किसानहरूमा राहतको अनुभूति भएको छ।
यातायात अवरुद्ध
लगातारको वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत तमैल–जालेबगर सडक खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरो शुक्रबार बिहान हटाइए पनि दिउँसो पुनः पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जयपृथ्वी नगरपालिकाको डोजर पहिरो हटाउने प्रयासमा जुटिरहेको छ। पानी परिरहेकाले पहिरो खस्ने क्रम रोकिएको छैन। बेलाबेला सडक खुल्ने र अवरुद्ध हुने स्थिति दोहोरिरहेको छ ।
हिमपातका कारण चिसो बढ्यो
बझाङको साइपाल, सुर्मा, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। साइपाल क्षेत्रका धुली, काँडा लगायतका स्थानमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ।
त्यस्तै, बाजुराको गौमुल, बुढीनन्दा, हिमाली गाउँपालिकामा पनि हिमपात भएको छ। बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको छ। डोटीको गैरा, साउखर्क र डडेल्धुराको हगुल्ट क्षेत्रमा पनि हिमपातको प्रभाव देखिएको छ।
खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिमपात भएको छ। निकुञ्जका गेम स्काउट दिनेश खड्काका अनुसार कतिपय स्थानमा दुई फिट हाराहारी हिउँ जमिसकेको छ।
स्थानीयको राहतको अनुभूति
लामो समय खडेरीको मार खेपिरहेका किसानहरू पानी र हिमपातपछि आशावादी देखिएका छन्। ‘हिउँदे बाली खेतमै सुक्न लागेको थियो, अब उम्रिएको बोट पलाउँछ कि भन्ने आशा जागेको छ किसानहरूको प्रतिक्रिया रहेको छ ।
यद्यपि, पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकाय पहिरो हटाउने प्रयासमा जुटिरहेका छन् भने स्थानीयवासी वर्षासँगै आएको चिसो मौसमसँग जुध्न तयारी गरिरहेका छन्।