राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको अपील

 

ललितपुर, १३ फागुन – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN) ले एक अपील जारी गर्दै आसन्न राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विभिन्न भ्रामक आधारमा भइरहेका प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले निजी विद्यालयहरूको संगठनात्मक इतिहासलाई सम्मान गर्दै, शैक्षिक गुणस्तर, विधि, प्रक्रिया तथा ऐक्यबद्धताको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको छ। नेशनल प्याब्सनले संस्थाको गरिमा जोगाउनका लागि समन्वय, सहकार्य र ऐक्यबद्धताको आवश्यकतामा जोड दिएको छ।

महाधिवेशनका विषयमा केही समययता विभिन्न भ्रामक सूचनाहरू सार्वजनिक भइरहेको भन्दै संगठनले आधिकारिक निर्णय तथा प्रक्रियालाई मात्र स्वीकार गर्न आग्रह गरेको छ। आगामी फागुन १६ र १७ गते काठमाडौंमा सम्पन्न हुने महाधिवेशनमा पारदर्शिता र विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले संगठनका सबै सदस्य विद्यालयहरूलाई भ्रममा नपरी सूचनाको विश्वसनीय स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेका छन्। साथै, संस्थाको आगामी महाधिवेशन निष्पक्ष, पारदर्शी तथा लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने लक्ष्य रहेको पनि स्पष्ट गरिएको छ।

संस्थाका महासचिव अर्जुन प्रसाद अधिकारी तथा अन्य पदाधिकारीहरूले महाधिवेशनलाई शान्तिपूर्ण, सुव्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

नेशनल प्याब्सनले अपील गर्दै सबै सदस्य विद्यालय, प्रतिनिधि तथा सरोकारवालाहरूलाई संगठनको नियम, विधि तथा मर्यादालाई आत्मसात गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्