कञ्चनपुर, शुक्लाफाँटा – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ भमरभोजमा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन गरिएको छ। शुक्लाफाँटा नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सचेतनामूलक कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा, उपप्रमुख कल्पना पन्त, सशस्त्र प्रहरी एसपी लोकेन्द्र देव भट्ट, वडा नम्बर ८ का अध्यक्ष वहादुर सिँह महरा लगायत स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा ग्यासबाट हुने आगलागी नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन, जंगलमा आगो लागेमा अपनाउनुपर्ने उपाय, घरमा आगलागी भएमा दमकल बोलाउने तरिका, आगलागीका घाइतेलाई एम्बुलेन्स बोलाउने विधि लगायतका विषयमा अभ्यास गराइएको थियो। स्थानीय बासिन्दालाई प्रत्यक्ष रूपमा आगलागी नियन्त्रणको अभ्यास गराएर सिकाइएको थियो।
नगर प्रमुख र उपप्रमुखको भनाइ
नगर प्रमुख रण बहादुर महराले विपद् व्यवस्थापनका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले भने, “आगलागी नियन्त्रण र तत्कालको उद्दारका उपायहरूमाथि सचेतना जरुरी छ। यो कार्यक्रमले नगरवासीलाई विपद् व्यवस्थापनमा सक्षम बनाउने विश्वास लिएको छु। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”
नगर उपप्रमुख कल्पना पन्तले समुदाय स्तरमा सचेतना आवश्यक रहेको उल्लेख गर्दै भनिन्, “विपद् कहिले आउँछ भनेर थाहा हुँदैन, तर तयारी राख्न सकिन्छ। ग्यास लिकेज, जंगलमा आगलागी तथा घरमा आगो लाग्दा गर्ने उपायहरूबारे हामी सबै जानकार हुनुपर्छ।” उनले स्थानीयलाई यस्ता अभ्यासमा सहभागी भई सिक्न आग्रह गरिन्।
स्थानीयवासीको उत्साहजनक सहभागिता
डेमो प्रदर्शनमा सशस्त्र प्रहरीको अग्नि नियन्त्रण टोली, नगर प्रहरी, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयले प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएपछि उत्साहित देखिन्थे।
शुक्लाफाँटा नगरपालिकाले आगलागी तथा अन्य विपद् न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।