दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली खोलामा चितुवा पासोमा परेको छ। शुक्रबार दिउँसो ३ बजेको समयमा स्थानीयले थापेको पासोमा चितुवा परेको हो। तर, खबर गरिए पनि अहिलेसम्म उद्धार कार्य सम्पन्न हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार दिउँसो नै डिभिजन वन कार्यालयलाई जानकारी गराइएको थियो। तर, आवश्यक जनशक्ति र सामग्री अभावका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ।
डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मी दत्त जोशीले कार्यालयसँग उद्धारका लागि आवश्यक उपकरण नभएको स्वीकार्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराइएको बताए। त्यस्तै, उद्धारका लागि कर्मचारी खटाइएको भए पनि तत्काल चितुवालाई सुरक्षित स्थानमा लैजान सक्ने अवस्था नरहेको उनको भनाइ छ।
स्थानीय बासिन्दाहरू भने वन कार्यालयको ढिलासुस्तीप्रति असन्तुष्ट छन्। “दिउँसो नै खबर गरिएको थियो, तर अहिलेसम्म उद्धार हुन सकेको छैन। यसले प्रशासनको कमजोरी देखाउँछ,” स्थानीय रमेशप्रसाद भट्टले भने।
चितुवा नियन्त्रणमा नआउँदा स्थानीयमा डर त्रास छाएको छ भने प्रहरी प्रशासनले सो क्षेत्रबाट हिँडडुल नगर्न आग्रह गरेको छ। समयमै उद्धार कार्य सम्पन्न गर्नुपर्ने माग गर्दै स्थानीयले वन कार्यालयको तयारी र स्रोतसाधन अभावलाई लज्जास्पद भनेका छन्।