झलारी, कञ्चनपुर – कृष्ण माध्यमिक विद्यालय सिमलफाँटाले बुधबार आफ्नो चार कोठे पक्की भवनको शिलान्यास सम्पन्न गरेको छ। शिलान्यास कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै भवनको शिलान्यास गरे।
कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रताप सिंह धामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकराज भट्ट लगायतका स्थानीय नेता र अभिभावकहरूको उपस्थिति रहेको थियो।
यस भवनको निर्माण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय अनुदानमा भइरहेको हो। चार कोठे भवनमा शौचालयको व्यवस्था पनि गरिएको छ। विद्यालयमा भवन अभावका कारण यस वर्ष शुक्लाफाँटा नगरपालिकाले कृष्ण माध्यमिक विद्यालय सिमलफाँटालाई प्राथमिकतामा राखेको थियो।
नगरप्रमुख महराले ५५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त भवनले विद्यार्थीहरूलाई पठनपाठनमा सहजता प्रदान गर्ने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकराज भट्टले पनि यस वर्षभित्र भवन निर्माण सम्पन्न हुने जानकारी दिए, जसले विद्यालयमा शैक्षिक गतिविधिहरूमा सुधार ल्याउने विश्वास व्यक्त गरे।
यसैगरी, शुक्लाफाँटा नगरपालिकामा विभिन्न विद्यालयहरूको भवन निर्माण कार्य पनि अघि बढाइएको छ। नगरपालिकाले वडा नं. ४ को पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं. ७ को धर्मजनता माध्यमिक विद्यालय, वडा नं. १ को सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं. ७ को कृष्ण माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको कार्य अघि बढाएको जनाएको छ।
अर्थिक वर्षभित्र विद्यालयहरूको भवन निर्माण कार्य सम्पन्न हुने योजना रहेको छ, जसका लागि ५६ लाख रुपैयाँको बजेट समायोजन गरिएको छ। शुक्लाफाँटा नगरपालिका अन्तर्गत ५३ विद्यालय सञ्चालनमा रहेका छन्, जसमा २८ सामुदायिक र २५ संस्थागत विद्यालय समावेश छन्।