कीर्तिपुर अस्पतालको आइसियुमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार

काठमाडौँ -पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।

शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो। दुवै जनालाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरिएको जनाएको छ।अस्पतालका अनुसार प्रारम्भिको मूल्यांकन गर्दा दुवै जनाको शरीरको ५/६ प्रतिशत जलेको पाइएको छ। ‘तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाल उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उपचारमा प्राध्यापक डा. वि.डी झा र डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राध्यापक डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली खटिएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मील दुवै जनाको उपचार भइरहेको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्