प्रा.डा. अक्क्लदेव मिश्र
कोभिड–१९को महामारीका कारणले अहिले अस्तव्यस्त भएका सामाजिक क्षेत्रहरुमा शैक्षिक क्षेत्रपनि चिन्ताजनक अवस्थामा पुगेको छ । नर्सरी देखि दशौँ कक्षा सम्मका विद्यार्थीहरुको पठनपाठन तथा परीक्षाको एकातिर समस्या छ भने कक्षा ११ र १२ को अर्को समस्या छ । स्कुल र विश्वविद्यालयबीचको पुलको रुपमा लिइने यस तहका विद्यार्थी र अभिभावक बढी चिन्तित देखिन्छन् । विश्व विद्यालयको शैक्षिक अवस्था पनि उत्तिकै प्रभावित भएको छ । अहिले विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षण संस्थाहरु सबैको चिन्ता कोभिड–१९ महामारीबाट जोगिने एकातिर छ भने शैक्षिक गतिविधि सुचारु गर्ने अर्कोतिर छ ।
चिन्ता जसका जे भएपनि बाँच्न पाउनु सबैभन्दा ठूलो कुरा हो । जीवन भए यी सबै गतिविधिहरु भोली सामान्य हुँदै जान्छन् । २/३ महिना लकडाउन भएर शैक्षिक क्षेत्र ध्वस्तै हुने अवस्था आउँदैन । पठनपाठन सुचारु गर्न नसकिने अवस्थामा विद्यार्थी भर्ना लिनु, परीक्षा लिनुको कुनै अर्थ रहदैन । अहिले विद्युतीय माध्यमबाट पढाइको समेत कुरो आएको छ, जुन बहुसंख्यक विद्यार्थीको पहुँचमा छैन । पाठ्यक्रम र परीक्षा प्रणाली समेतले यस्तो पढाइसित मेल खादैन, बरु कुनै राष्ट्रिय प्रसारण मार्फत शैक्षिक तथा व्यवहारिक सामाग्री प्रसारण गरेर विद्यार्थीको ज्ञानको आधार बन्न सक्दैन । अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई पारिवारिक तथा व्यवहारिक कार्यहरुमा संलग्न गराएर वातावरण सामान्य र उत्साहमुखी बनाउन सकिन्छ । प्राप्त हुन नसक्ने गरि हामीले केहि गुमाएका छैनौँ ।