काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताए ।
पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् । बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित नहुने बताए । उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै उक्त संस्थाहरुलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए । उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए । उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पारे ।
उनले भने, ‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हो । त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो । यस मामलामा सम्माननीय पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरु सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु । सामान्यतः संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुककै अभिभावक हो । त्यसअर्थमा नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति हुनुहन्छ नै । तर मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिन । सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिन । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ । तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिष्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्नेकुरा चाहीँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउनसक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन ।’
उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताए । उनले सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको समेत बताए । —न्युज एजेन्सी नेपाल