काठमाडाैँ – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित भागेश्वर माध्यमिक विद्यालय कटालले आफ्नो स्वर्ण जयन्ती र अभिभावक दिवस भव्यताका साथ मनाउने भएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रमहरूको आयोजना गर्ने भएको छ।
यस अवसरमा खुल्ला पुरुष र महिला भलिवल प्रतियोगिता पनि गरिने छ। पुरुष भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ३,००,०५० रुपैयाँ, द्वितीय पुरस्कार १,५०,०५० रुपैयाँ, र तृतिय पुरस्कार ७५,०५० रुपैयाँ प्रदान गरिने छ। साथै, प्रत्येक पुरस्कारको साथ प्रमाणपत्र, ट्रफी र मेडल पनि प्रदान गरिने छ। प्रतियोगितामा टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ।
महिला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार १,५०,०५० रुपैयाँ, द्वितीय पुरस्कार ७५,०५० रुपैयाँ, र तृतिय पुरस्कार ५०,०५० रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिने छ, साथै प्रमाणपत्र, ट्रफी र मेडल पनि वितरण गरिने छ। टिम दर्ता शुल्क ४,००० रुपैयाँ तोकिएको छ।
यसैगरी कार्यक्रममा सस्थापक अध्यक्ष तथा जमिनदाताको सालिक अनावरण, स्वर्ण स्तम्भ स्थापना, परशुराम नगरपालिका जनप्रतिनिधिहरू र कार्यालय प्रमुखलाई सम्मान, जेष्ठ नागरिक सम्मान, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक तथा पूर्व विद्यार्थी सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान, विद्यार्थीको देउडा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रमहरू तथा अक्षय कोष घोषणा र अक्षय कोषका सस्थापकलाई सम्मान समेत गरिने प्रधानाध्यापक जनक राज अवस्थीले जानकारी दिनुभयो ।
यस विद्यालयको स्वर्ण जयन्ती कार्यक्रमले विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायलाई एकसाथ ल्याउने र विद्यालयको समृद्धि र इतिहासलाई सम्मान गर्ने महत्वपूर्ण अवसर हुनेछ।