काठमाडौं- माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमवार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँकाअनुसार २५,२६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८,२९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताउनु भयो । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पाल्र्यामेण्ट चलाउँछौँ । १८ गतेबाट शुरु हुन्छ । २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरु सबै पेश हुन्छ । २५,२६ र २७ संसदीय समितिकोहरुको बैठक हुन्छ । २८,२९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गर्नुभएको बताउनु भयो । उहाँले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरु त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रुपमा छलफल भयो । १८ गते शुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेण्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताउनु भयो । उहाँले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरु गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’
प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताउनु भयो । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ । —न्युज एजेन्सी नेपाल