काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।
शनिवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अयिन्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरु रहेको बताए ।उनले जान्नेलाई छान्ने भन्नेहरुले नेपालको कानून पहिला जान्नुपर्ने बताए । अब युवाहरुले बुझिसकेको भन्दै युवाहरु भ्रमित नहुने बताए । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरु र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताए । राजनीति आफैँमा एउटा विज्ञान भएको बताए ।
महासचिव पोखरेलले भने, ‘पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्दछ । कस्तो नयाँ खोज्नुपर्दछ । नयाँ खोज्नेहरुले नारा लगाए, जान्नेलाई छान्नुपर्दछ । नारा सारै मिठो थियो । छान्नै पर्दछ, जान्नेलाई नै छान्नुपर्दछ । तर कस्ता रहेछन् त नेता भन्दा सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने कानून पनि पढ्न नजान्नेहरु जान्नेलाई छान्नेका अभियान कर्ता रहेछन् । नेपालको कानून के छ ? भन्नेकुरा त जान्नुप¥यो नि, जान्नेलाई छान्नेहरुले । परेन ? कुनैपनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्नुपर्दछ भन्ने मान्यताका आधारमा त्यो रकमको सदुपयोग गर्नुपर्दछ, भन्नेकुरा त जान्नुप¥यो नि । जहाँबाट पनि ल्याएको छ, मनपरी खर्च गरेको छ । संस्था डुबाएको छ । नारा लगाएको छ, जान्नेलाई छान्ने ? त्यसका पछाडि युवालाई भ्रममा पार्ने । अब युवाहरु भ्रमित हुनेवाला छैनन् । जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको थियो भन्नेकुरा युवाहरुले अब बुझिसकेका छन् । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएका, एक प्रकारले भन्ने हो भने राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल भइन्छ भन्ने हुँदैन । राजनीति आफैँमा एउटा विज्ञान हो ।’
महासचिव पोखरेलले राजनीति गर्नेहरुले संघर्ष गर्न सक्नुपर्ने र धैयर्ता राख्न सक्नुपर्ने बताए । सयौँ फूलहरु फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरु खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बताए । समाजवादका नाममा अनेक प्रकारका दलहरुले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको बताए । —न्युज एजेन्सी नेपाल