भन्सारका समस्या समाधानका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरीः अर्थसचिव घिमिरे

काठमाडाैँ – अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले भन्सारका समस्या समाधान र सुधारका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार नेपाल समुन्द्रपार निकासी पैठारी संघले भन्सार दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले विगतको तुलनामा भन्सारमा धेरै सुधार भएको भन्दै आवश्यक भौतिक पूर्वाधार अझै बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्सारमा निजी क्षेत्रलाई व्यापार सहजिकरणको लागि सरकारले आवश्यक रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार हुनु मुलुकको लागि उत्साहजनक विषय भएको बताउनु भयो । उहाँले कस्ट अफ डुइङ विजनेस बढ्ने भनेको निजी क्षेत्रको सरोकारको विषय मात्रै नभएर समग्र मुलुककै सरोकारको विषय भएको बताउनु भयो । उहाँले भन्सारमा नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको भन्दै भौतिक उपस्थिति बिना अनलाइन प्रणालीको विकास भइरहेको बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकार आरोप÷प्रत्यारोप भन्दा पनि एउटै उद्देश्य भन्सारका समस्या सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार भएको छ । त्यो उत्साहजनक छ । समान रुपमा निरन्तर कसरी राख्ने भन्ने चुनौती छ । कष्ट अफ डुइङ विजनेस भनेको समग्र अर्थतन्त्रको लागि हो । यो निजी क्षेत्रको सरोकारको विषय मात्रै होइन । समग्र मुलुककै सरोकारको विषय हो । प्रशासनकी कार्यहरुलाई प्रभावकारी र सरल बनाउँदा कम गर्न सकिन्छ । कस्ट अफ डुइङ विजनेस तथ्याङ्क प्रकाशित हुन छाडेको छ तर प्राथमिकता राखेको छ । भन्सारलाई टेक्नोलोजी र नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक छ । भौतिक उपस्थिति बिना अनलाइनमा काम गर्न आवश्यक छ । दुई देशबीचको कारोबारमा केही समस्या भएपनि समाधान गर्दै जानुपर्छ । विगतको तुलनामा भन्सारमा धेरै सुधारहरु भएको छ । अझै सुधारको लागि सरकारले पहल गरिरहेको छ । निजी क्षेत्र र सरकार आरोपप्रत्यारोप गरेर मात्रै हुँदैन । सरकार र निजी क्षेत्र दुई पक्ष होइन । हाम्रो एउटै उदेश्य हुनुपर्छ । भन्सारका समस्या सुधार गर्न निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी छ ।’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले लामो समयदेखि भन्सार सुधारको प्रयास गरिरहेको बताउनु भयो । उहाँले भन्सारमा पछिल्लो समय धेरै सुधार भएपनि केही नीतिहरु कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्सार प्रशासनमा व्यवसायीहरुले दैनिक रुपमा भोगेका समस्या समाधानको लागि खुला छलफल गरेर समाधान गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्सार विभाग भन्सार प्रशासनमा सुधार गरी व्यापार सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले भन्सार विभाग र निजी क्षेत्रबीच भन्सारका समस्याका विषयमा निरन्तर रुपमा छलफल गर्दा मात्रै पनि धेरै समस्याहरु समाधान हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । — न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्