हिमालमा हिमपात र तराईमा शितलहरः प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

काठमाडाैँ – राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताउनु भयो । उहाँले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रहेको बताउनु भयो ।

उहाँले चिसोबाट नागरिकहरुलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न नर्देशन दिएको बताउनु भयो । शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताउनु भयो । महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहरका कारण जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरु मात्रै नभएर हिमाली जिल्लाहरुमा भारी हिमपात पनि कतिपय ठाउँमा भएका कारणले गर्दा चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रुपमा छ । यस बारेमा प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई प्रत्येक वर्ष गृह मन्त्रालयबाट जसरी निर्देशन जान्छ, त्यसरी नै यो शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गर्ने गरेको छ ।विभिन्न सञ्चारमाध्यमबाट हामीले सूचना पनि जारी गर्ने गरेका छौँ । जोखिमबाट अनपेक्षित घटना हुन नदिन चाहिने राहत सामग्री वा न्यायो कपडा लगायतका कुराहरु जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन कोषबाट पनि खरिद गरेर वितरण गर्नसक्ने अवस्था छ । प्रत्येक वर्ष जस्तो अत्याधिक हिमपात, शितलहर, आगलागीका घटना पनि प्रारम्भ भएको छ । परिवारले अपनाउनुपर्ने सावधानीका कुराहरु अपनाउन आग्रह गर्दछौँ । यात्रा गर्दा तिब्र गतिमा सवारी नचलाउन अनुरोध गर्दछौँ । जोखिम घटाउने काम व्यक्ति र परिवारको हो । जति सावधानी अपनाउन सकिन्छ, त्यति नै जोखिम कम हुन्छ ।’

विगत केही दिनदेखि कोशी, मधेस र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु÷कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (भmापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्