नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरिया, २९ पुस । अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार  एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो ।

 

नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ। उनीहरुलाई स्थानीय भाषामा डकैत भनिन्छ । यी लडाकुहरूले गाउँहरूमा आक्रमण गर्छन्, फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्छन् र उनीहरूको घर जलाउँछन्। जसका कारण यहाँका सर्वसाधारणले पनि आत्मरक्षाका लागि बन्दुक लिएर अपराधीलाई इलाकाबाट धपाउने गरिरहेका हुन्छन् ।

 

शनिबार पनि जाम्फाराको डांगेबे गाउँमा लुटेराले आक्रमण गरी धेरै जनावरहरू लुटेका थिए । यसपछि गाउँलेहरूले उनीहरूलाई बन्दुकले आक्रमण गरेका थिए । र, उनीहरूलाई लखेटेर  फर्कँदै गर्दा टुङ्गर कारा गाउँ नजिकै उनीहरूमाथि लडाकू विमानले गोली प्रहार गरेको हो ।

 

एम्नेस्टी इन्टरनेसनलले मृत्यु हुनेको संख्या २० पुगेको बताएको छ । नाइजेरियाली अधिकारीहरूलाई यस हवाई आक्रमणको तत्काल र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यो घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्