६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि थुनामुक्त भए रवि लामिछाने

काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने ८४ दिन लामो प्रहरी हिरासतबाट मुक्त भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् । उनी २ कात्तिकमा काठमाडौंमा पक्राउ परेका थिए । त्यसपछि उनी कास्की प्रहरीको हिरासतमा थिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका थिए । प्रहरीले लामो अनुसन्धानपछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि मुद्दा चलाउन राय दिई जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा ७ पुसमा वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा उनीमाथि मुद्दा दायर गरेको थियो । त्यसपछि भएको थुनछेक बहसपछि बिहीबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी धरौटी बुझाएर बिहीबार अबेर रिहा भएका हुन् । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दायर भएकाले उनी काठमाडौंमा पनि उपस्थित हुनुपर्नेछ ।

लामिछानेसँगै यही प्रकरणमा पक्राउ परेका छविलाल जोशी पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्