काठमाडौँ – विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिएको छ।
बक्यौता रकम हेरी सिंहदरबारस्थित संसद सचिवालयका नाममा रहेको मिटरको लाइन काट्दा कांग्रेस संसदीय दलको परेको प्राधिकरणका अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार, संसद सचिवालयका नाममा ६३ हजार ४ सय रुपैयाँ बक्यौता रहेको र त्यसमा २५ प्रतिशत जरिवाना पनि थप लाग्ने अवस्था छ।
यस्तै भूमिगत जलस्रोत विकास समितिको बबरमहलस्थित भवनमा पनि विद्युतको लाइन काटिएको छ। २० हजार रूपैयाँ बक्यौता रहेको उक्त भवनको लाइन काट्दा काठमाडौँ जिल्ला अदालतका केही इजलास पनि प्रभावित भएका छन्।
यस्तै केन्द्रीय कारागारले २१ महिनादेखि विद्युतको महसुल नतिरेपछि काटिसकिएको लाइन पनि विभिन्न सरकारी निकायको दबाबमा जोडिएको छ।
उक्त कारागारको बक्यौता २ करोड ६८ लाख रहेको प्राधिकरणले बताएको छ। त्यहीँ रहेको महिलाहरू बस्ने कारागारले ७ महिनादेखि नतिरेको बक्यौता १३ लाख १९ हजार रहेको पनि प्राधिकरणले जनाएको छ।