लगातार ६ दिनको वृद्धिपछि नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो

काठमाडौँ – साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले अघिल्लो कारोबार दिनको बुधबारसम्म निरन्तरता दिएको थियो।

बिहीबार भने नेप्से १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ४० करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ३० करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०८ वटा धितोपत्रको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ८४७ रूपैयाँ र ४५४ रूपैयाँ ३० पैसा कायम भएको छ। बिहीबार सप्तकोशी डेभलपमेन्टको मूल्य ९.२३ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १५० रूपैयाँ कायम भएको छ। माया खोला हाइड्रोपावरको मूल्य ८.४६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५५१ रूपैयाँ १० पैसामा झरेको छ। बिहीबार सुपर माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४९२ रूपैयाँमा ४४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिनर्जी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३५८ रूपैयाँमा २८ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स समूहको परिसूचक ०.९९ प्रतिशतले घटेको छ भने बाँकी १२ समूह परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशतले घटेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक २.०४ प्रतिशतले घटेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्