सोलुखुम्बु — मंगलबार बिहान नेपालको सिमाना नजिकै चीनको सिगात्से आसपासमा गएको ७.१ म्याग्निच्युड (प्रारम्भिक मापन) को भूकम्पको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा झन्डै ३० सेकेन्डभन्दा बढी लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस भएको हो ।
भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । अहिले डर र त्रासले उनीहरु घर बाहिरै बसिरहेका छन् । चिसोमा बिहानै भूकम्प गएपछि सर्वसाधारण चिसोमा घर बाहिरै बसिरहेका छन् । भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति भयो भन्नेबारे विवरण सङ्कलनका लागि प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पनि सम्भावित क्षति हुन सक्ने स्थानहरूमा सतर्कता बढाएको छ । खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्रविन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनमा लागि परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश मानिस राजधानी तिर बस्दै आएका छन् । सदरमुकाम सल्लेरी बजारका मानिसहरू घरबाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन् ।