नेपालमा भुकम्पको उच्च जोखिम, कसरी जान्छ भूकम्प ?

काठमाडौं – राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चीन केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ । मंगलबार बिहान नेपालमा महसुस हुने गरी गएको भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमानाको चीनतर्फ रहेको पुष्टि भएको हो ।

भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बताइन् । उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि भौतिक वा मानवीय क्षतिको विवरण आइसकेको छैन । ‘भूकम्प ठूलै आएको महसुस भयो । म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन । लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ,’ विश्वकर्माले भने ।

बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्प गएको केही समयपछि नै अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ । सुरूमा यूएसजीएसले नेपालको लोबुचे क्षेत्र राखेर उल्लेख गरेको उक्त विवरणमा परिवर्तन गर्दै ७.१ म्याग्निट्यूडको भूकम्पको केन्द्रविन्दु चीनको सिजियाङ रहेको उल्लेख गरेको छ ।

त्यसपछि उसले लोबुचे क्षेत्रबाट ७२ किलोमिटर उत्तरपूर्वमा ५ दशमलव १ म्याग्निट्यूडको एउटा र १२५ किलोमिटर उत्तरपूर्वमा ४ दशमलव ८ म्याग्निट्यूडको अर्को झट्का महसुस गरिएको जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन् ।

नेपालमा भूकम्पको जोखिम
विसं २०७२ सालको भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन् । तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ । भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन् । पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ । भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो ।

कसरी जान्छ भूकम्प ?
नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो ।

फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ । ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन् । तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ ।

यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ । –बीबीसीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्