शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन प्रचण्डको माग

काठमाडौँ  – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रचण्डले सरकारको जमिन गैरकानूनी रूपले व्यक्तिको नाममा ल्याउने कार्यमा जो कोही संलग्न भए पनि कानूनको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । उनले  ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभई धन्यवाद दिने बताए ।

आफू प्रधानमन्त्री हुँदा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरू खोलेको र कानून मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिने जो कसैलाई पनि छुट दिन नमिल्ने थिति बसाल्न खोजेको भन्दै प्रचण्डले शेरा दरबारको जग्गा हिनामिना भएको भए दोषीलाई छाड्न नहुने बताए ।

नुवाकोटको विदुर नगरपालिका–२ शेरा दरबार र त्यसले चर्चेको १ सय ८४ रोपनी ४ आना १ पैसामध्ये १ सय ६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानूनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सीआईबीले पत्र लेखिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्