अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।

कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताउनुभएको छ ।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउसमा हुनुहुन्थ्यो । उहाँ अमेरिकाको ३९औँ राष्ट्रपति हुनुहुन्थ्यो ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बन्नुभएको छ । उहाँको एक सामान्य किसानबाट राष्ट्रपतिसम्मको यात्राबारे चर्चा भइरहेको खबरमा उल्लेख छ । राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्द्धन गतिविधिहरूमा समर्पित गरेर  सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गर्नुभएको थियो ।

फाउन्डेसन मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । यही कामले उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्