आज सुदूरपश्चिम र कर्णालीमा वर्षा, भोलि काठमाडौंमा, आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं – पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।

मौसमविदहरुका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।
आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।

यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने बताइएको छ ।

हल्का वर्षा भनेको १० मिलिमिटर भन्दा कम पानी पर्नु हो । १० मिलिमिटरदेखि माथि ५० मिलिमिटर भन्दा तलको अवस्थालाई भने मध्यम खालको वर्षा भनिन्छ ।

यो अवस्था आइतबारबाट क्रमशः सुधार हुने देखिन्छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मात्र वर्षा हुने देखिन्छ । अन्य स्थानमा भने खासै वर्षाको सम्भावना नदेखिएको वरिष्ठ मौसमविद अर्यालले बताए ।

यो प्रणालीले जाडो बढाउने छ । त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम भोलि अझै घट्ने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्