काठमाडाैँ – केहि बर्ष अगाडिसम्म कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका शैक्षिक क्षेत्रमा पछि परेको थियो । कतै विद्यालय भवनहरु जीर्ण थिए तथा कतै पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उड्ने सम्मको समस्या थियो । यो त भौतिकतर्फ भयो उता शैक्षिक पठनपाठनतर्फ पनि बेजोग अवस्था थियो । कतै दरबन्दी अनुसार शिक्षक थिएनन् त कतै विद्यार्थी नै न्यून थिए । कतै शिक्षक अभावमा शिक्षाले गति लिन सकेको थिएन भने कतै भौतिक अभावमा शैक्षिक क्षेत्र पछि परेको थियो । २०७४ को निर्वाचन पश्चात शिक्षामा सुधार हुने आशा जनतामा थियो तर खासै सुधार हुन सकेन् । शैक्षिक क्षेत्रका समस्या ज्यूका त्यूँ रहे । शिक्षामा केहि गर्नुपर्छ र शिक्षाले नै भोलिको भविष्य निर्धारण गर्न सक्छ भन्ने अवधारणा कसैमा आउन सकेन ।
२०७९ सालको निर्वाचन पश्चात शुक्लाफाँटाले नयाँ नेतृत्व पायो । अब विकासले मुहार फेर्ला कि भन्ने जनतामा नयाँ आश जाग्यो । समाजसेवी तथा कुशल राजनीतिज्ञको रुपमा परिचित व्यक्ति रण बहादुर महराले शुक्लाफाँटाको नेतृत्व पायो । कर्मचारी अभाव झेल्दै आएको नगरपालिकामा काम गर्न पक्कै कठिन त थियो नै । विकासका गतिविधि अगाडी बढाउदै उहाँले शैक्षिक क्षेत्रमा समेत ध्यान दिनुभयो । शिक्षा शाखाको अगुवाइमा उहाँले शिक्षामा लगानी गर्नु आजको आवश्यकता हो भनि विद्यालय मर्जको अवधारणा अघि सार्नुभयो । न्यून विद्यार्थी रहेको विद्यालयलाइ नजिकको विद्यालयमा समायोजन गर्ने अवधारणा अनुरुप सो कार्यले पूर्णता पायो । त्यसपश्चात प्रधानाध्यापकको जिम्मेवारी हेरफेर गरियो । माध्यमिक स्तरका विद्यालयमा स्थायी माध्यमिक शिक्षकलाइ तथा आधारभूत स्तरको विद्यालयमा निमाबी शिक्षक तथा प्राथमिक तहको विद्यालयमा प्राबि शिक्षकलाइ नै अको जिम्मेवारी दिने गरि खाका तयार पार्नुभयो । सोहि अनुरुप जिम्मेवारी हेरफेर गरि विद्यायमा खटाउनुभयो । शिक्षाको गुणस्तरमा परिवर्तन भएको आभास हुने गरि काम गर्न समेत निर्देशन दिनुभयो । त्यस पश्चात नयाँ जिम्मेवारी पाएको प्रअ लाइ पनि केहि गरेर देखाउनु पर्छ भने आभाष देखियो र शैक्षिक सुधारमा जुट्नुभयो ।
शैक्षिक गुणस्तर बढाउन शिक्षामा प्रसस्तै लगानी गर्न नगर कार्यपालिका तयार रह्यो । नगरपालिकाले संघीय शिक्षा अनुदान र प्रदेश अनुदान बाट प्राप्त बजेटबाट शिक्षक नियुक्ति गरेपश्चात पनि शिक्षकको अभाव देखेपछि नगर अनुदान मार्फत समेत शिक्षक पदपूर्ती गरेको छ । यो कार्यले पछिल्लो समय शिक्षामा निक्कै सुधार भएको देखिएको छ । अझै पनि नगरपालिकाले शिक्षामा बृहत योजना बनाउदैँ गएको छ । सुविधा सम्पन्न स्कुल बस सहितको सेवा दिने विद्यालय स्थापनाका लागि समेत नगरपालिकाले गृहकार्य अघि सारेको छ ।
विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकोमा पछिल्लो दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको र शिक्षक पदपूर्तिले पनि शैक्षिक गतिविधिमा सहज हुनुका साथै शैक्षिक सुधार भएको महसुस भएको नवनियुक्त प्रअहरुको प्रतिक्रिया रहेको छ । उपहार खबरसँगको कुराकानीमा प्रअ पिताम्बर जोशीले भन्नुभयो, “अहिले भौतिक संरचनाले पूर्णता भएको छ, शैक्षिक गुणस्तर बढाउनका लागि रहेका छौँ, समग्रमा विगतको तुलनामा अहिले गुणस्तर बढेको पाएका छौँ, समयसमयमा शिक्षकलाई प्रविधिसँग जोड्नका लागि अपडेट हुने खालका तालिमहरु समेत पाइराखेका छौँ ।
मानिसको चौतर्फीका विकासका लागि शिक्षा अपरिहार्य छ । समुन्नत देशको परिकल्पना साकार पार्नको लागि शिक्षाको विकास र विस्तार हुनु आवश्यक छ । शिक्षित र सक्षम जनता देशका अमूल्य पूँजी हुन । गुणस्तरीय तथा जीवनपयोगी शिक्षाले नै भोलिको सफल भविष्यको कल्पना गर्न सकिन्छ । शैक्षिक संस्थाले प्रदान गर्ने गुणस्तरीय शिक्षाबाट मात्रै त्यस संस्थामा अध्ययनरत विद्यार्थीहरुको भविष्य उज्वल हुन सक्ने भएकाले शिक्षामा अझै लगानी थप गर्ने र शुक्लाफाँटालाई शैक्षिक हबको रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।
नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको देखिन्छ । अहिले अधिकांश विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ, पहिले एउटा ब्लाकबोर्ड पनि गतिलो थिएन, तर अहिले विद्यालयका भवनमात्रै होइन, यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन भएको छ, विद्यार्थी खुसी भएर पढ्न रुचाउँछन् भने घरमाभन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँने गरेको शिक्षकहरुको प्रतिक्रिया रहेको छ ।
नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको विद्यार्थीहरुको भनाइ छ । सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको नगर प्रमुख रण बहादुर महराले बताउनुभयो ।