रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो ।

हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्