काठमाडौं – शुक्लाफाँटामा रहेका नदीजन्य पदार्थ ढुंगाको अवैधानिक व्यवसाय कसको हातमा छ त ? यो त अदृश्य तत्वको हातमा छ । न कुनै ठेकेदारले प्रत्यक्ष र सहज रूपमा यसलाई पाइरहेका छन् न सार्वजनिक निकायले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेको छ ।
यो क्षेत्र नै विभिन्न अवाञ्छित र अदृश्य तत्वको हातमा छ । यसको उपलब्धता सुलभ छैन । यसको व्यापार, लागत मूल्य र प्राप्ति मूल्य अदृश्य किसिमले शक्तिशालीले निर्धारण गर्ने गर्दछन् । एउटा यस्तो गिरोह छ जुन रातसाँझ तथा विहानीपख सक्रिय हुन्छ ।
जिल्ला बन कार्यालयका प्रमुख बन अधिकृत पनि म नियमन गरिरहेको छु मात्रै भन्छ तर तस्करी बढिरहेको छ । कतै यो राजनीतिक तथा प्रशासनीक तहबाट तस्कर सुरक्षित त भइरहेका छैनन् कि ? भन्ने चिन्ता स्थानीयमा बढेको छ ।
समय समयमा तस्कर भइरहेको ढुंगा सहित ट्याक्टर समातिन्छन । हिजो मात्रै शुक्लाफाँटा नगरपालिका वडा नम्बर -०८ को बनहरा नदि र बछेला नदिबाट बाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा ढुवानीमा संलग्न सु प प्र ०१-००२ त 4767 र से-१ त 9804 नम्बर ट्रयाकटर शुक्लाफाँटा नगरपालिका- ०८बेल्डाडि र मणिकाधाम टोल निवासी स्थानीय बासिन्दाहरुले नियन्त्रणमा लिएर इप्रका झलारी कञ्चनपुरलाई आबश्यक कारबाहीका लागि जिम्मा लगाएको छ।
राजनीतिक तथा प्रशासनिक तहले यो अबैध धन्दालाइ र यसमा संलग्न व्यवसायीप्रति देखाएको मोह र सामीप्यका कारण नियमनका व्यवस्थाहरू पनि अनुचित लाभ लिने अस्त्र मात्रै बनिरहेको उदाङ्गो रूपमै देखिन्छ । बरु शुक्लाफाँटा नगरपालिकाले भने यसलाइ व्यवस्थित ढंगले अघि बढाउन ठेक्का प्रक्रियामा लग्ने तयारीमा लागेको छ । अबैध ढुंगा तस्करी रोक्न नगरपालिका सक्रिय रहेतापनि अन्य वनसँग सम्बन्धित निकायले चासो नदिदा गिरोहहरुको मनपरी भएको छ ।
नदीको प्राकृतिक अवस्था र वहाब दोहन गर्दा हुने आलोचना छल्न र अवैध क्रसर सञ्चालकको सम्भावित बिल्ला पन्छाउन सकेसम्म दलका नेताहरूले यो व्यवसायलाई आफू निकटलाई जिम्मा लगाएका छन् ।
आफन्त र विश्वासपात्रलाई छद्म लगानीकर्ताका रूपमा खडा गरेर नेताहरू नै यो व्यवसायमा संलग्न छन् । यति हुँदाहुँदै पनि कतिपय यसमा खुलेर लागेका छन् भने धेरैले बुख्याँचा खडा गरेर गुप्त रूपमा व्यवसाय विस्तार गरिरहेका छन् ।