काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविरबाट ५ हजार भन्दा धेरैले सेवा लिएका छन् । मंगलबार वडा नम्बर ७ भोटेनाम्लाङ र बुधबार वडा नम्बर ६को धापमा सम्पन्न शिविरबाट ५ हजार ३५१ जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा दिएका थिए। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीले शिविरको प्रत्यक्ष लाभ लिएको गाउँपालिकाले जनाएको छ ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविरले फाइदा पुगेको छ ।