नेशनल प्याब्सन काठमाडौँः खेलकुद सप्ताहको सातौं संस्करण मंसिर २१ गतेबाट सुरू हुने

काठमाडौं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा सञ्चालन हुन गइरहेको खेलकुद सप्ताहको सातौं संस्करण यहि मंसिर २१ गते एक भव्य उद्घाटन समारोहका बिच सुरु हुने भएको छ ।

बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकाी गराएको हो । विगत वर्षहरुझैँ यस वर्ष पनि विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको विकास गर्दै अनुशासित र सक्षम नागरिक तयार गर्ने उद्देश्य अनुरुप खेलकुद सप्ताह आयोजना गर्दै आएको छ । जसका कारणले खेलकुद क्षेत्रको विकास, सहकार्य र युवा प्रतिभा उजागर हुने विश्वास लिएको छ । खेलकुद सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुका बिचमा आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला कार्य समितिले अपेक्षा गरेको छ ।
प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीयलाई कमशः रु. ५०००/-, ३०००/- र २०००/- नगद पुरस्कार समेत प्रदान गरिने छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडलमार्फत पुरस्कृत गरिने कार्यक्रम रहेको छ।
सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १२० वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउनेछन् । सातौँ संस्करणको उद्घाटन सत्र यही मंसिर २१ गते काठमाडौँको मुटुमा रहेको सिफल खेलमैदानमा नेपाल सरकारका खेलकुद मन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न हुने अध्यक्ष अमृतकुमार खड्काले बताउनुभयो ।

यस सप्ताहव्यापी खेलकुदमा मुख्य गरी पाँचवटा विधामा प्रतिस्पर्धा गराइनेछ । चारवटा विधा सदस्य विद्यालयहरुको सहभागितामा सशुल्क तथा एउटा विधा मार्चपास भने निःशुल्क सञ्चालन गरिने छ । उद्घाटन समारोहका दिन सदस्य विद्यालयहरुबाट निःशुल्क रुपमा मार्चपास प्रतियोगिता सञ्चालन हुनेछ जसमा २००० जनाभन्दा बढी विद्यार्थीहरु सहभागी हुने संयोजक अतिरिक्त क्रियाकलाप संयोजक तथा नेशनल प्याब्सन काठमाडौका उपाध्यक्ष प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।
फुटसल खेलको संयोजकका रुपमा गोर्कणेश्वर नगर समितिका अध्यक्ष निराजन आचार्य सहित ३ सदस्य उपसमिति, बास्केटबलका लागि जिल्ला उपाध्यक्ष माधव अधिकारी सहित ३ सदस्य उपसमिति, कबड्डीका लागि एन प्याब्सन काठमाडौं जिल्लाका पूर्व वरिष्ठ उपाध्यक्ष श्याम योन्जन सहित ३ सदस्य उपसमिति र तानडोरी खेलका लागि एन प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना सहित ३ सदस्य उपसमितिको नाम जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।
चारवटै विधामा सदस्य विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत छात्र तथा छात्राहरुले भाग लिन पाउने छन् । विद्यालयको पहिचान सहितको पोशाक, खेल पोशाक, परिचयपत्र र प्रतिनिधि खेलशिक्षक सहित सम्पूर्ण चारवटै विधामा भाग लिन सदस्य विद्यालयलाई अनुरोध गरिएको छ ।
खेलहरुका लागि सहभागी शुल्क जिल्ला एन प्याब्सन कार्यसमिति बैठकबाट पारित गरिए अनुरुप नै प्रतियोगिता सुरु हुनुअगाडि सहभागी हुने विद्यालयहरुले आयोजकलाई बुझाउनु पर्ने छ । सोका लागि क्रमशः प्रति टिम फुटसलका लागि रु. ४०००/-, बास्केटबलका लागि रु.४००० /-, कबड्डीका लागि रु.३००० /- र तानडोरीका लागि रु. ३०००/- निर्धारण गरिएको छ। प्रत्येक विधामा यो खेलकुद सप्ताह सकेसम्म सबैलाई पायक पर्ने स्थानको खोजी गरी तथा हाम्रा सदस्य विद्यालयहरुमा उपलब्ध भौतिक पूर्वाधारहरुलाई समेत मध्यनजर गरी चारवटै खेलहरू भिन्न भिन्न ठाउँमा सञ्चालन गर्ने योजना अनुरुप फुटसल खेल कमलादीस्थित युनिग्लोब कलेजमा, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा र कबड्डी तथा तानडोरी खेल सिनामङ्गलको भीमसेनगोलास्थित श्री आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ ।
भव्य र सभ्यरुपले चारवटै खेलहरु सम्पन्न गर्दै यही मंसिर २९ गतेका दिन समापन समारोह सहित यो खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण गरिनेछ । उक्त सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्