मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्छ – मिना चौलागाई

नेपाली साहित्यको जगतमा एउटा छुट्टै नाम स्थापित गर्न सफल मुक्तककार मीना चौलागाईको नयाँ मुक्तक सङ्ग्रह  विमोचन भएको छ । मीना चौलागाईद्वारा लिखित ‘मनोकाङ्क्षा’ मुक्तक संग्रह शनिवार काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी विमोचन गरियो ।नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा मीना चौलागाईको दोस्रो मुक्तकसंग्रह ‘मनोकाङ्क्षा’ विमोचन भएको हो ।  १ सय ४ पृष्ठको पुस्तकमा ३ सय १२ वटा मुक्तक समेटिएका छन ।

मुक्तक सार्वजनिक भएपछी उपहार खबरका संवाददाता सुशील चौलागाईले  मुक्तक लेखक मीना चौलागाईसँग मुक्तकबारे गरेको कुराकानीको संपादित अंश ।

तपाईलाई ‘मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन देख्न पाउँदा कस्तो महसुस भइरहेको छ ?

मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन हुनु मेरो लागि अत्यन्त गर्वको र विशेष क्षण हो। यो संग्रह मेरो लेखनको यात्राको एक महत्वपूर्ण मोड हो र यसमा समेटिएका मुक्तकहरूले मेरो भावनाहरू र विचारहरूको गहिराइलाई दर्शाउँछन्। पाठक र साहित्यप्रेमीहरूको उपस्थितिले मलाई थप प्रेरित गरेको छ  र म आभारी छु कि मेरो मेहनतलाइ यति ठूलो मान्यता दिइएको छ। यस अवसरमा मलाई मेरो लेखन यात्रा र यस संग्रहको तयारीमा सहकार्य गर्ने सबैलाई सम्झनु छ। यो अवसरले मलाई भविष्यमा अझ धेरै लेख्न र सिर्जना गर्न प्रेरित गर्छ।

‘मनोकाङ्क्षा’ नामक संग्रहको शीर्षक कसरी चयन गर्नुभयो ?  यसको अर्थ के हो ?

मनोकाङ्क्षा नामक संग्रहको शीर्षकको चयन चै मैले यो धेरै अर्थपूर्ण देखेर गरे। यो शब्द नेपाली भाषामा दुई शब्दबाट बनेको छ ।  मनो भनेको मन अर्थात् हृदय वा मस्तिष्क  र काङ्क्षा भनेको चै इच्छा, आकांक्षा वा चाहना।यस शीर्षकले कुनै व्यक्तिको गहिरो भावनात्मक चाहना र आकांक्षाहरूलाई प्रतिनिधित्व गर्छ। यसमा जीवनका लक्ष्य, आशा र मानवीय भावना समेटिको छ ।

तपाईले मुक्तक लेख्न शुरू गर्दा के कस्तो प्रेरणा र अनुभव पाउनु भएको थियो ?

मुक्तक लेख्न सुरु गर्ने प्रेरणा र अनुभव चै यस्तो थियो मेरो । पहिला म अलिकति मेरो कुरा गर्छु । म रामेछापको लखनपुर भन्ने ठाउँमा जन्मेको हुँ  र मेरो बिबाह चै काभ्रेपलाञ्चोक जिल्लाको  पाँचखाल भन्ने ठाउँमा भएको हो । मैले एसएलसी पनि रामेछाप कै एक विद्यालयबाट गरे । अनि बाँकी अध्ययन काभ्रेपलाञ्चोक र काठमाण्डौमा गरे । मैले पढिन मात्र  पढाए पनि । एन्जिओहरुमा पनि काम गरे । त्यसबेला म काम र अध्ययनमा व्यस्त थिए तरपनि  मैले  व्यक्तिगत मात्र नभइ राजनीतिक अवस्था, सामाजिक परिस्थितिहरू  बुझीरहेकी थिए र एकदिन समय निकालेर लेख्नु भन्ने पनि थियो । तर यसक्रममै अहिलेभन्दा करिब ७ वर्ष अगाडि मलाइ मुटुमा समस्या देखियो । स्वास्थ्य समस्याका कारण बाहिरी कुनै पनि काम गर्न नसक्ने भए । उपचार र आराम गर्नुपर्ने भएकोले घरमै बसे । अनि अब के गर्ने भनेर बस्दा प्रकाशित भएका अरुका कृतिहरु पनि पढ्न थाले । पढ्दा पढ्दा मलाइ चै मुक्तकहरु लेख्न मन लाग्यो । किनभने मुक्तक सानो भए पनि यसको प्रत्येक हरफमा गहिरो अर्थ समेटिएको हुन्छ। कुनै घटना, भावना वा विचारले गहिरो असर पार्छ ।  सरल तर गहन शब्दमा व्यक्त गर्न चाहना जाग्यो । समाजका असमानता,सामाजिक न्याय वा अन्यायका कुरा व्यक्त गर्न पनि मुक्तक सशक्त माध्यम बन्छ भनेर लेख्न थाले ।  यही नै हो मेरो प्रेरणा र अनुभव चै ।

मुक्तक लेखनमा के विशेषता महत्त्वपूर्ण छ ?

मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्छ । किनकी मुक्तक छोटो हुन्छ तर यसको प्रत्येक शब्दले गहिरो प्रभाव पार्नुपर्छ। जति कम शब्द प्रयोग गरेर भावनालाई छर्लंग बनाइन्छ, मुक्तक त्यति नै प्रभावशाली हुन्छ।गाउँदा होस या सुन्दा, मुक्तक पढ्दा वा उच्चारण गर्दा स्वाभाविक रूपमा लयबद्ध लाग्नुपर्छ। मुक्तकले पाठकलाई सोच्न बाध्य पार्नुपर्छ र एक प्रकारको छाप छोड्नुपर्छ।

यस संग्रहमा समेटिएका मुक्तकहरूले कस्तो सामाजिक सन्देश दिन खोज्छ ?

मनोकाङ्क्षा शीर्षकले संकेत गरेजस्तै, यो संग्रहले व्यक्तिको आकांक्षा, सपना, संघर्ष, प्रेम, राजनीति र जीवनप्रतिको दृष्टिकोणसँग जोडिएको सन्देश दिन्छ । सामाजिक अन्याय, असमानता वा समस्याहरूलाई उजागर गर्दै तिनको समाधानतर्फ संकेत गर्न सक्छ।पाठकलाई गहिरो रुपमा सोच्न, प्रेरित गर्न र सकारात्मक परिवर्तनका लागि उत्प्रेरित गर्न सक्छ।

तपाईको साहित्यिक यात्रा कस्तो रह्यो ?  पहिलो संग्रह र यो दोस्रो संग्रहमा के फरक देख्नुभयो ?

साहित्यिक यात्रा भनेको एउटा यात्राको सुरुआत मात्र होइन । समयसँगै अनुभव, अभिव्यक्तिको परिपक्वताको कथा पनि हो। प्रत्येक लेखकको पहिलो संग्रह व्यक्तिगत दृष्टिकोण र भावनात्मक जगसँग जोडिएको हुन्छ। पहिलो संग्रह लेखनमा भावनात्मक कुरा, संघर्ष, खोज र प्रेरणाबाट प्रभावित हुन्छ र मेरो पनि त्यही नै छ ।अनुभवको कमीले कहिलेकाहीँ स्पष्ट रूपमा अभिव्यक्त गर्न कठिनाइ हुन सक्छ। दोस्रो संग्रह भनेको लेखकको परिपक्वता र दृष्टिकोणको परिणाम हो।अनुभवले लेखनलाई थप गहिरो बनाउँछ। पहिलो संग्रहको प्रतिक्रिया र आलोचनाले मलाई आफ्नो शैली परिमार्जन गर्न प्रेरित गरेको छ । र दोस्रोमा मैले गहन तथा बढी परिपक्व, व्यवस्थित र गहिरो कुराहरु जुन हाम्रो जीवनमा अत्यन्त महत्वपूर्ण कुराहरु समेटिएको छु ।हरेक मानिसलाई सकारात्मक तर्फ लैजान यसले सहयोग गर्छ । पहिलो संग्रह पाठकको प्रारम्भिक छाप बनाउने प्रयास हो।दोस्रो संग्रह पाठकसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न र आफ्नो पहिचान बलियो बनाउनमा केन्द्रित छ

तपाइँको हालसम्म कतिवटा कुन कुन कृति प्रकाशित भए ?

मेरो धेरै कृतिहरु प्रकाशित भएका छन् ।

‘मुक्तक मिनार’ मुक्तकसंग्रह – २०७८

‘मनोकांक्षा’ मुक्तकसंग्रह –२०८१

‘मुक्तक माधुर्य’ संयुक्त मुक्तकसङ्ग्रह-( २०७५) नेपाल मुक्तक प्रतिष्ठान

‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ संयुक्त मुक्तकसङ्ग्रह(२०७६)

‘हैसियत’ संयुक्त गजलसंग्रह (२०७६)

‘प्राज्ञा नेपाली नारी मुक्तक’ (२०७७)

‘मुक्तकमा समावेश स्वरुपहरु’ संयुक्त मुक्तकसंग्रह (२०७७)

स्मारिका तथा मुक्तक सञ्चयन(२०७९)

नेपाल मुक्तक प्रतिष्ठान (दसौँ वार्षिकोत्सव) मुक्तक समावेश

‘अन्तर्वोध’ संयुक्त गजलसंग्रह (२०८०)

‘विजयोपहार’ संयुक्त मुक्तकसंग्रह (२०८०)

‘नन्दन’ संयुक्त कोपिला संग्रह (२०७८)

‘नन्दन’ संयुक्त कोपिला संग्रह (२०८१)

विगत एक दशकदेखि विभिन्न किसिमका पत्र-पत्रिकाहरुमा विविध विधाका रचना निरन्तर रुपमा प्रकाशित

सम्मान तथा पुरस्कार ∶ अन्तर मुक्तक राष्ट्रिय सम्मान (२०७९) लमजुङ

प्रकाशोन्मुख कृति -गजलसंग्रह,गीतसंग्रह, मुक्तकसंग्रह

तपाईले नेपाली मुक्तकको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपाली मुक्तकको भविष्य उज्ज्वल छ ।  किनभने यस साहित्यिक विधाले आफ्नो सरलता, गहनता र प्रभावशाली विशेषताका कारण पाठक र लेखक दुवैलाई आकर्षित गरिरहेको छ। मुक्तक छोटो आकार भए पनि यसको विषयवस्तु र सन्देश ठूलो छ । जसले यसलाई नेपालमा पनि विभिन्न पुस्ता र समयसँग सान्दर्भिक बनाएको छ।

तपाईका पाठक र युवा लेखनमा रुचि राख्नेहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

लेखन केवल शब्दहरूको संयोजन मात्र होइन, आफूलाई चिन्नु र आफ्नो साँचो भावनाको सम्बन्ध जोड्नु लेखनको सबैभन्दा ठूलो उद्देश्य हो। तपाईले जे लेख्नुहुन्छ, त्यसले तपाईको आवाजलाई प्रकट गर्ने अवसर पनि हो । लेखनले आफ्ना सपनाहरूलाई प्रकट गर्न र तिनलाई पुरा गर्ने प्रेरणा दिन्छ। लेखनको माध्यमबाट व्यक्तिगत अनुभव र दृष्टिकोणलाई अरूसम्म पुर्‍याउनुहोस्। समाजका समस्याहरू र चुनौतीहरूको बारेमा लेख्नाले सकारात्मक परिवर्तन ल्याउन सघाउछ ।  तपाईंको शब्दहरूले अरुलाइ सोच्न र नयाँ दृष्टिकोण अपनाउन प्रेरित गर्न सक्छ। आफ्नो लेखनमा सत्यता र ईमानदारीलाई प्राथमिकता दिनुहोस् भन्न चाहन्छु ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्