काठमाडौँ – सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। जिल्ला अदालतबाट शुक्रबार प्रहरीले पक्राउ अनुमति लिएको एसपी मिश्रले बताए।
चितवनको सहारा चितवन सहकारीका पीडितहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका थिए। पूरक जाहेरी दर्तापछि प्रारम्भिक अनुसन्धानपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो।
साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्।
साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका थिए।
यसअघि गत असोज ८ गते प्रहरीले साहरा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।