भक्तपुर – भक्तपुर बहुमुखी क्याम्पसको ५ रोपनी जग्गा क्याम्पसको हित विपरीत बेचिएको घटनाले विद्यार्थी र क्याम्पस समुदायलाई आन्दोलित बनाएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भक्तपुर बहुमुखी क्याम्पसका प्रतिनिधिहरूले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति समक्ष ज्ञापनपत्र बुझाउँदै, उक्त जग्गा बेच्न सहमति जनाउने व्यक्तिहरूको राजीनामा माग गरेका छन्।
ज्ञापनपत्रमा सहमति खारेज गरी बेचिएको जग्गा फिर्ता ल्याउन र क्याम्पसको पर्खाल पुरानै अवस्थामा पुनर्निर्माण गर्न जोड दिइएको छ। साथै, विद्यार्थीहरूको स्वायत्त संस्थाको रूपमा स्ववियुलाई कम नआक्न चेतावनी दिँदै, विद्यार्थीहरूको माग पूरा नभए कडा कदम चाल्न बाध्य हुने बताएका छन्।
स्ववियुले घटनाप्रति कडा आपत्ति जनाउँदै भने, “यो क्याम्पस लाखौं विद्यार्थी र स्थानीय समुदायको साझा सम्पत्ति हो। यसलाई कुनै पनि हालतमा निजीकरण गर्न दिइनेछैन। सहमति खारेज हुनुका साथै जग्गा फिर्ता हुनुपर्छ, र यसमा संलग्न व्यक्तिहरूले आफ्नो जिम्मेवारी लिइ तुरुन्तै राजीनामा दिनुपर्छ। यदि हाम्रो माग पूरा गरिएन भने, हामी थप सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।”
विद्यार्थीहरूको ठाडो असहमति र क्याम्पसको हितका लागि उठाइएको आवाजले व्यापक समर्थन पाएको छ। यसै क्रममा क्याम्पसको सुख-शान्ति र समृद्धिका लागि हवन पूजाको आयोजना गरिएको छ। हवन पूजामा सहभागिता जनाउँदै विद्यार्थी, शिक्षक, र समुदायले जग्गा बेच्ने कार्यमा संलग्न सबैलाई सद्बुद्धि प्राप्त होस् भनी प्रार्थना गरे। क्याम्पसको यो घटनाले क्याम्पस प्रशासन र स्थानीय निकायलाई जवाफदेही बनाएको छ। विद्यार्थीहरूको यो पहलले क्याम्पस हितको संरक्षणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।