काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको भर्चुअल बैठक बस्दैछ। परिवर्तित परिस्थित र आन्दोलनको मोडालिटीबारे छलफल गर्न मंगलबार बिहान भर्चुअल बैठक बोलाइएको हो ।
रास्वपाले बिहान ७ बजे जुम बैठक आह्वान गरेको हो। पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगी र संगठित अपराधको अभियोगमा प्रहरीले उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
पछिल्लोपटक त बयानसमेत नलिई म्याद थप मात्रै गरेर राखिरहेको र सरकारले लामिछानेमाथि प्रतिशोध साँधेको पार्टीका नेताहरूको आरोप छ। पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेकाले त्यसको प्रारूप के हुने भनेर आज छलफल गरिने रास्वपाले जनाएको छ ।
त्यस्तै रास्वपाले पार्टीका धारणा र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन पनि गर्दैछ। यसैबीच सभापति लामिछानेलाई रुपन्देही लगिँदैछ। रुपन्देहीमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पनि रवि लामिछानेको खातामा पैसा आएको देखिएकाले त्यसबारे अनुसन्धानका लागि उनलाई त्यहाँ लैजान लागिएको हो। अहिले बिहान ७ः४५ को उडानबाट उनलाई रुपन्देही लैजान लागिएको प्रहरीले बताएको छ।
लामिछानेलाई रुपन्देहीमा लैजाँदै गर्दा त्यहाँ पनि प्रदर्शन गर्ने तयारी गरेको छ।