काठमाडौ – रसुवागढी नाकाको विषयमा व्यवसायीहरूले सरोकारवालाहरूसँग छलफल गरेका छन् । काठमाडौंबाट रसुवाको सदरमुकाम धुन्चे पुगेर व्यवसायीहरूका नेताहरूले रसुवागढी नाकाको विषयमा वर्तमान अवस्थामा देखिएका समस्याहरूका बारेमा सरोकारवालाहरूसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा व्यवसायीहरूका तर्फबाट राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम, एकता व्यापार संघ नेपालका अध्यक्ष तेज प्रसाद आचार्य, राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष मुमताज अन्सारी, नेपाल व्यापार संघका महासचिव दिपक सापकोटा,नेपाल व्यापार संघका केन्द्रीय सदस्य तथा एकता व्यापार संघका सल्लाहकार मनोहरी सुवेदी लगायतको टोलिले रसुवाको सदरमुकाम धुन्चे पुगेर प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, रसुवा भन्सारका प्रमुख तुलसी भट्टराई लगायतका अधिकारीहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त उपस्थितिमा छलफल भएको थियो ।
रसुवामा भएको छलफलमा व्यवसायीहरूले भोग्नु परेका र झेलिरहेका समस्याहरूको जोडतोडका साथ उठान गरिएको थियो । समस्याहरूको थप पहिचान गरि न्युनिकरण गर्दै जाने र नाकालाई थप व्यवस्थित वनाएर लैजाने सरोकारवालाहरूको भनाइ थियो । नेपाल र चिन बीच पारवहन सन्धी भएपनि व्यापारीहरुलाई चीनको केरुङसम्म समेत जान दिइदैन, यसले ठुलो समस्या परेको छ, नेपालबाट चीन तर्फ गाडी लैजान रसुवा जिल्लावासी चालक हुनुपर्ने व्यवस्थाले व्यवसायीहरु थप मारमा परेका छन्’ एकता व्यापार संघ नेपालका अध्यक्ष आचार्यले भने । ‘रसुवाबासी चालकको संख्याले मात्रै धान्न सक्दैन, अन्तर्राष्ट्रिय नाकामा सबै व्यापारीहरुले जान पाउनु पर्छ, ७७ वटै जिल्लाका व्यवसायीहरुलाई सरकारले पासको व्यवस्था गर्नुपर्छ ।’
७७ वटै जिल्लाका व्यवसायीहरुले निर्वाध रुपमा नाकाबाट सामान ल्याउन पाउनुपर्ने उनको भनाइ थियो । चीनको भिसा भएपनि नाकाबाट चीन पस्न नपाइने चीनीया नीतिमा हेरफेर हुनुपर्ने उनको तर्क छ । यी समस्याहरुलाई सरकारले कुटनीतिक पहल गरेर छिटो भन्दा छिटो सामाधन गर्नुपर्ने उनको माग थियो ।
“सरोकारवालाहरूसँगको छलफलले केही आशा पलाएको छ, चीनसँगको मुख्य नाका केरूङबाट सामान भित्र्याउदा हुने कठिनाईमा कमि आउला भन्ने विश्वास लिएकोछ छु ।“ अध्यक्ष आचार्यले भने ।
एकता व्यापार संघ नेपाल मुख्यतः चिनबाट सामान आयत गरि नेपालमा व्यापार गर्ने व्यारीहरूको संस्था हो । यद्यपि यस संस्थामा अन्य व्यापारीहरूको आवद्दता समेत रहेको छ । यस संस्थाले व्यापारीहरूका समस्याहरूलाई उठान गर्दै आइरहेको छ ।
यस्तै छलफलका क्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले व्यापारीहरूका समस्यालाइ उठान गरेका थिए । सरकारले सडकको तत्काल सुधार गर्नुपर्ने, नाकामा हुने हैरानीलाई रोक्नुपर्ने, गाडिहरूले लिने मनपरि भाडाको समाधान खोज्नुपर्ने लगायतका विषय राखेका थिए । गौतम व्यापारीहरूका समस्याको निरन्तर उठान गर्दै आइरहेका छन् ।
यसैबीच राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएका नाकामा अस्थायी पासको व्यवस्था मिलाइदिन भन्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललाई पत्र बुझाएका थिए । ‘रसुवाबाट केरुङ सामान ढुवानी गर्न जाने ट्रक र सामान लोड गर्ने मालधनी वा प्रतिनिधीले केरुङ जाने पास नपाउँदा विकराल समस्या परेको छ । आफ्नो गाडी रसुवादेखि केरुङसम्म २८ किलोमिटर बाटोमा अरु नयाँ चालक खोज्नुपर्ने बाध्यताले सयौं गाडीहरु विग्रिएको, ठोक्किएको, त्यसरी ठोक्किएका गाडीको चीनतर्फ इन्सुरेन्स नपाइने, अन्य चालकलाई आवश्यक भन्दा बढी रकम बुझाउनुपर्ने, सवारी चालक नपाइने, असक्षम चालकलाई व्यवसायीहरुले आफ्नो सवारी साधन र करोडौंको मालसामान जिम्मा लगाउन बाध्य हुनुपर्ने, यसबाट ट्रक व्यवसाय तथा व्यवसायी दुबै धरासायी भएको, सामान धनी व्यवसायीहरु केरुङ जानबाट वञ्चित हुँदा कति सामान लोड भयो थाहा नहुने, जस्तो सामान पठाएपनि बुझ्न बाध्य हुनुपर्ने, हराएको सामान थाहा नहुने, भन्सार तिर्नलाई के कति सामान लोड भएको छ सोको विवरण समेत जानकारी नहुने आफूले खरिद गरेको सामान पोर्टमा हेर्न जान समेत नपाइने, भन्सारमा समेत धेरै झन्झट व्यहोर्नुपर्ने भएको अवस्थालाई विगतमा यस नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई जानकारी गराउँदै आएपनि कुनै सुनुवाई हुन सकेको छैन ।’ पत्रमा लेखिएको छ । ‘ नेपाल र चिन विच पारवहन सन्धी समेत भई सकेको तर व्यापारीहरुलाई चिनको केरुङसम्म मात्र प्रवेशमा रोक लगाउदा ठुलो समस्या परेको छ । कोरोना भन्दा अगाडी व्यवसायीलाई सो नाकाबाट केरुङ जानका लागी सहज थियो । तर अहिले त्यो सुविधा नहुदा व्यवसायीहरु ठुलो समस्यामा परेका छन् । रसुवामा निर्माण भइरहको भईरहेको ड्राईपोर्ट छिटो भन्दा छिटो सन्चालनमा ल्याउन समेत नेपाल राष्ट्रिय व्यवसायी महासंघ जोडदार माग गर्दछ । केरुङ नाका जानका लागि व्यवसायी वा निजको प्रतिनिधी, चालक र सहचालकलाई केरुङ नाकामा जाने आउने अस्थायी पास उपलब्ध गराउनका लागि समेत सहजीकरण गरिदिनुहुन श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यूसमक्ष हार्दिक अनुरोध गर्दछौं ।’
नेपाल व्यापार संघका महासचिव दिपक सापकोटाले भन्सारका विषयमा बोल्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । व्यवासायीहरुले सामान आयात गर्दा समस्या झेल्नु परेको र यसको तत्काल सामाधान खोजी व्यवसायीहरुलाई हतोत्साही बनाउन नहुने उनकाे धाराणा थियो ।