प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान, कार्यवाहकको जिम्मा टेकप्रसादलाई

काठमाडौं – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बेलायत प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान गरेका हुन् ।

नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले समेत महासभामा भाग लिनेछन् ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्यलगायतमा छलफल हुनेछ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको बेलायत प्रस्थान गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्