दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्धित्तिया तिथि आर्थात् भाइटिकाको दिनको यो जात्रा पर्ने गर्दछ । आधिकारिक रुपमा जात्रा सुरु भएको समेत मान्ने गरिन्छ । यसपछि क्रमश जात्राको लहर सुरु हुन्छ ।
आज दिउँसो पुजन जात्राको रुपमा दियो बाल्ने, ध्वजा चढाउने, चिनोको रुपमा केहि धार्मिक बस्तुहरु चढाउने लगायतका काम हुन्छन भने रातीको समयमा भव्य मेला लाग्ने गर्दछ ।
जसमा लेकम क्षेत्र लगायत अन्य क्षेत्रहरुबाट समेत भक्तजन तथा दर्शनार्थीहरु आउने गर्दछन् । दिउँसो बृद्धबृद्धाहरु जम्मा हुन्छन भने रात्रीको समय सबै उमेर समुहका व्यक्तिहरु जम्मा भई जात्रा हुनेगर्दछ । बिहानै देखि व्यापारीहरु त्यस क्षेत्रमा पुगि पसल थापि सकेका छन भने दर्शनार्थीहरु आउने जाने क्रम चलिरहेको छ ।
बेलुकाको समयमा विभिन्न क्षेत्र तथा गाँउहरुबाट दमाहा सहितको झाकी निस्किन्छ भने देउडा खेलले पनि जात्राको रौनकता थपिदिन्छ । रातभरी दमाहाहरु बजाएर रमाइलो गरिन्छ भने बिहानीपख दमाहाको प्रतिस्पर्धा स्वरुप मन्दिर परिक्रमा गर्ने गर्दछन् । जसलाई स्थानीय भाषामा धुपदेउ भनेर भन्ने गरिन्छ । धुपदेउमा सबै गाउँका दमाहाहरु र दामाहा बजाउने व्यक्तिहरुले मन्दिर परिक्रमा गरिसकेपछि उत्कृष्ट टोलीलाई ध्वजा स्वरुप सम्मान गरिन्छ । जसलाई नेजा दिएको भनिन्छ । जुन दमाहालाई नेजा दियो उक्त दमाहा उत्कृष्ट भन्ने गरिन्छ ।
प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने बन्तोली जात्रालाई सुरुवाती जात्रा मान्ने गरिन्छ भने लेकम गाउँपालिका २ मा रहेको कुणी भगवती जात्रा, शैल्यशिखर–८ झरकडामा रहेको गलैनाथ जात्रा तथा लेकम–४ खरकडाको पातिमा रहेको मन्दिरमा लाग्ने पूर्णिमाको जात्रालाई समापन जात्राको रुपमा लिने गरिन्छ ।
मालिकार्जुन गाउँपालिकाको वडानम्बर ४ को हुनौनाथ मन्दिर औतालेक र लेकम हुनैनाथ मन्दिर कुणी र सर्मोलीको धुरामा अष्टमीका दिन जात्रा लाग्ने गर्छ । लेकम क्षेत्रकै ठूलाे जात्रा मानिने लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ जैपुर मन्दिरमा नवमी तिथिमा जात्रा लाग्ने गर्दछ । त्यस्तै मालिकार्जुन – ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिर तथा लेकम – ६ उचाकोटमा रहेको मालिकार्जुन मन्दिरमा चर्तुदशी तिथिमा जात्रा लाग्ने गरको छ ।