“सभामुख कसले पाउने भनेर बहस गर्ने विषय नै होइन,” हरिबोल गजुरेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भावी सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक निरन्तर सरिरहेको छ । पछिल्लो पटक आइतबारका लागि बोलाइएको बैठक नेकपाका शीर्ष नेताहरूको अनुरोधमा माघ ६ गतेसम्मका लागि रोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर पार्टीबाट भावी सभामुख टुंग्याउन प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न अनुरोध गरेका थिए ।

पार्टीबाट सभामुखको उम्मेदवार छान्न ९ दिन बैठक रोकेका नेताहरूबीच भने सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ ।

तत्कालै निकास निकाल्नेभन्दा पूर्वएमाले र पूर्वमाओवादी पक्षले आ–आफ्ना अडानलाई यथावत् राख्दै एकअर्कालाई गलाउने रणनीतिमा दुबै पक्ष लागेका छन् ।

पूर्वमाओवादी पक्षधर नेताहरूले गतिरोधको मुख्य कारण प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्दा अहिलेको अवस्था आएको तर्क गर्नुभयो । नेकपामा अहिले पनि पूर्वएमाले र पूर्वमाओवादी पक्ष रहेको र उनीहरूबीच मुख्य विषयमा भागबन्डा हुनुपर्ने उहाँको भनाइ छ ।

’पार्टी एकता भएपनि प्राविधिक रूपमा दुइटा समूह कायमै छन् । पार्टीको संगठनदेखि मन्त्रीसम्म भागबन्डाकै आधारमा बनाइएको छ,’ गजुरेलले भने, ’सभामख कसले पाउने भनेर बहस गर्ने विषय नै होइन तर अहिले यसलाई विवादको विषय बनाइएको छ । प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्ति सभामुख बनाउन खोज्दा यस्तो भएको हो । उहाँले डाडुपन्यू सबै आफ्नै हातमा लिन खोज्नुभएको छ।’

पुस ४ गतेदेखि संसदको हिउदे अधिवेशन सुरु भएपनि अहिलेसम्म संसदको बैठक बस्न सकेको छैन । अधिवेशन आह्वानको सुचना पढ्नका लागि पहिलो बैठक बसेको थियो ।

त्यसयता चार पटकसम्म सूचना टासेर संसद बैठक स्थगित भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्