माघे सङ्क्रान्ति : थारुसमुदायको नयाँ वर्ष, सुदूरपश्चिममा नरहरी

काठमाण्डौ – आज माघे सङ्क्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात क्रमशः छोटो हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । बिहानैदेखि स्नान गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज भने अनिवार्य नुहाउनु पर्ने मान्यता राख्छन् ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । जाडो मौसममा शरीर न्यानो पार्ने परिकार खानुलाई वैज्ञानिक पक्षसँग पनि जोडेर हेर्ने गरिन्छ ।

थारुसमुदायको माघी

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गइ स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

सुदूरपश्चिममा नरहरी

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यस पर्वलाई नरहरी भनेर चिन्ने गरिन्छ । यस पर्वमा चेलीबेटी माइतघर जाने परम्परा समेत रहेको छ । पौष मसान्तमा सेल, पुरी जस्ता विभिन्न खानका परिकार पकाएर खाने चलन छ भने माघ १ गते अर्थात नरहरीको दिन कागलाई बोलाएर सेल रोटी खुवाउने चलन छ । माघ १ गते विहानै उठेर पधेरो अर्थात पानीको मुहानमै गएर नुहाएर कागलाई रोटी खुवाउन बोलाउने चलन छ । यद्दपी यो परम्परा अहिले लोप हुदै गएको छ । युवा पुस्ताले संस्कृति जगेर्नामा ध्यान नदिदा संस्कृति नै लोप हुन लागेको जानकारहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्