कृषि विकास बैंकको ४ करोड बढी रकम हिनामिना गर्ने ८ जना विरुद्ध मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको झण्डै सवा ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा न्यूरोड शाखाका तत्कालिन प्रबन्धक प्रेमहरि ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्‍टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बैंकमा विभिन्न व्यक्तिको नाममा प्राप्त एकाउन्ट पेई चेकलाई पुन प्रयोग गरी बैंकका शाखा प्रबन्धकसहित वरिष्ठ कर्मचारीबाट सदर गराई रकम झिकेर मिलेमतोमा हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्‍तियारले तत्कालिन शाखा प्रबन्धक ढुंगेलसँगै, टेलर सहायक दिपिका रेग्मी, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्टा, तारानाथ पाण्डे, अवकाशप्राप्‍त सहायक रथी रमेशराज विष्ट, दुर्गा ज्वेलर्सका प्रकाश घतानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाइमास्ने उद्देश्यले बैंकलाई गैर–कानूनी हानिनोक्सानी पुर्‍याउने योजना बनाई बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने काममा विभिन्‍न प्रक्रिया मिलाउने र निकालिएको रकम भाग लगाई हिस्सा लिने खाने गरेको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्