संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न विकास समितको निर्देशन

काठमाडौं – संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिनुभएको हो । बैठकमा सांसदले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदासमेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझावसमेत दिन नसकेको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताउनुभयो । बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझाव विज्ञबाट आएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भए पनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताउनुभयो । उहाँले केही बजेट विनियोजन गरिए पनि के बनाउने भन्ने निक्र्योल भएपछि बजेट थप हुने जानकारी दिनुभयो । समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्